भदौ १०- चन्द्रमामा पुग्ने पहिलो व्यक्ति अमेरिकी अन्तरिक्षयात्री निल आर्मस्ट्रङ्गको ८२ वर्षको उमेरमा निधन भएको छ । आर्मस्टङ्गको गएको महिना मुटुको शल्यक्रिया गरिएको थियो ।

शल्यक्रियापछि स्वास्थ्यमा गम्भीर जटिलता देखिएका कारण निधन भएको परिवारले जनाएको छ । तर परिवारले उहाँको निधन कहाँ भएको भन्ने खुलाएको छैन । सन् १९३० मा जन्मिएका आर्मस्ट्रङ्गले अमेरिकी अन्तरिक्ष संस्था नासामा आबद्ध भई एपोलो ११ मिसनको नेतृत्व गर्दै सन् १९६९ मा जुलाई २० तारिखमा चन्द्रमामा पहिलो पाईला टेक्नुभएको थियो ।

सहकर्मी एड्विन एल्ड्रिन संगै चन्द्रमामा तीन घण्टा बिताउँदै आर्मस्ट्रङ्गले चन्द्र धरातलमा हिंड्डुल गर्ने, नमूना संकलन गर्ने, केही गतिविधीको परिक्षण गर्ने र तस्वीर लिने काम गर्नुभएको थियो । सन् १९६२ मा अमेरिकी अन्तरिक्ष कार्यक्रममा सामेल भएका आर्मस्ट्रङ्गले सन् १९७१ मा नासा छोड्नुभएको थियो ।

आर्मस्ट्रङ्गको निधन प्रति दुःख व्यक्त गर्दै अमेरिकी राष्ट्रपति बाराक ओबामाले उहाँ सर्वकालिन महान् अमेरिकी नायक भएको उल्लेख गर्नुभएको छ ।अन्तरिक्ष यात्रामा पु¥याएको योगदानको कदर गर्दै गएको नोभेम्बरमा अमेरिकाले आर्मस्ट्रङ्गलाई सर्वोच्च नागरिक सम्मान प्रदान गरेको थियो ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले चन्द्रमामा पहिलो पाईला टेक्ने अन्तरिक्ष यात्री भएर पनि आर्मस्ट्रङ्ग कहिल्यै चर्चामा आउन मन नपराउने व्यक्तिको रुपमा उल्लेख गरेका छन् । सार्वजनिक कार्यक्रममा निकै कम मात्रै  देखिने आर्मस्टङ्गले सन् २००० को फेब्रुअरीमा एउटा कार्यक्रममा बोल्दै आफू एउटा सामान्य मान्छे भएको र त्यहि रुपमा रहीरहन चाहेको बताउनुभएको थियो ।

0 प्रतिक्रिया:

Post a Comment

तपाइलाई यो लेख कस्तो लाग्यो ? कृपया आफ्नो प्रतिकृया तलको कमेन्ट बक्समा ब्यक्त गर्नुहोला | हामीलाई सुझाब तथा सल्लाह समेत उक्त बक्समा ब्यक्त गरिदिनुहोला | धन्यबाद |

 
Top