फेरिँदै विज्ञापन

फेसबुकका संस्थापक मार्क गुकरबर्गले साइटमा उल्लेख गरेका छन्, 'यो निशुःल्क छ र सधैं रहने छ ।' त्यही साइटबाट केही वर्ष नबित्दै उनी खर्बपतिमा दरिन पुगेका छन् । सबैलाई निशुःल्क उपलब्ध गराउने साइटबाट कमाइ सम्भव छ ? किन नहुनु ? विज्ञापन जो छ कमाउने । फेसबुकको विज्ञापनबाट हुने कमाइ सन २०११ मा ४ सय मिलियन डलर पुगेको छ । 
फेसबुकले तपाईको पेजको दायापटि विभिन्न सस्तु/सेवा प्रदायकको विज्ञापन राखेको हुन्छ । त्यही उसको कमाइ हो । गुगलले त आफूलाई आउने विज्ञापन चल्तिका अरु वेभसाइटलाई समेत बाँड्छ । उसले त्यी बिज्ञापनबाट कमाएको अबौर्ं रकमको आधा हिस्सा अरु साइटलाई बाँड्ने गरेको दावी गर्दैआएको छ ।  
'बोल्नेको पिठो बिक्छ, नबोल्नेको चामलसमेत विक्दैन' भन्ने परापूर्वैदेखि चल्दै आएको उखानलाई परिस्कृत गरेर सुरु गरिएको हो विज्ञापन । 'विज्ञापनले उपभोक्तालाई पसलसम्म डोर्‍याउँछ', नेपाल विज्ञापन संघ -आन) का अध्यक्ष राजकुमार भट्टराई भन्छन्, 'पिठो राखेकै ठाउँमा करायो भनेमात्रै उपभोक्ताको ध्यान त्यसमा पर्छ ।' विज्ञापन सिर्जनात्मक भए त्यसले उपभोक्ताको ध्यान तान्छ । पछिल्लो समय विज्ञापनलाई 'सेक्स अपिल' सँग जोड्न थालिएको छ । सुन्दर युवतीलाई उसको कुनै साइनो नभएको दारी काट्ने ब्लेडको विज्ञापनमा समेत उतारेर ग्राहकलाई आकषिर्त गर्ने चलन बढ्दै गएको छ । 
एक सयम थियो, विदेशी उत्पादनका अधिकांश विज्ञापन उनीहरूकै 'थिम' मा नेपाली आवाज राखेर/नेपाली भाषामा अनुवाद गरेर मात्र प्रकाशन/प्रसारण गरिन्थ्यो । नेपालमा बनेका विज्ञापनसमेत नक्कल गरिएकाजस्तै लाग्थे । समय बदलिएको विज्ञापनका क्षेत्रमा काम गर्नेहरूको दावी छ । 'मुलुकले द्वन्द्वको समयबाट उन्मुक्ति पाएपछि नेपाली मौलिक विज्ञापन सिर्जनाको क्रम बढेको छ,' आन अध्यक्ष भट्राई भन्छन्, 'मौलिक सिर्जना गर्नेहरूलाई प्रोत्साहन गर्न हामीले अवार्ड दिएर सम्मान गर्न थालेका छौं ।' उत्पादकले पैसा तिरेर गर्ने विज्ञापनलाई निर्माताको कलात्मक सिर्जनाको रुपमा लिएर आनले उत्कृष्ट विज्ञापनका सर्जकलाई ७ वर्षदेखि कृति अवार्ड प्रदान गर्दै आएको छ । अवार्ड वितरण समारोहको तयारीमा ब्यस्त रहेका आन अध्यक्ष भट्टराई मुलुकमा विस्तारै मौलिक विज्ञापन उत्पादन हुने क्रम निकै बढेको बताउँछन । आनले यो वर्ष २४ विधामा अवार्ड बितरण गर्ने तयारी गरेको छ ।
मौलिक सिर्जना खोज्ने क्रम बढेकाले गायक, संगितकार, निर्देशक, कपिराइटर, डिजाइनर, प्राविधिकलगायतले यसमा अवसर पाउन थालेका छन् । गायिका जुना प्रसाईं गायनसगै रेडियो र टेलिभिजनमा घन्किने विज्ञापनमा समेत स्वर दिदै आएकी छन् । थोरै समय खर्च गर्दा उनले यसबाट नियमित राम्रो आम्दानी गर्दै आएकी छन् । मिठो स्वरकी धनी गायिकाको आवाज आफ्नो विज्ञापनमा राख्न पाउँदा त्यसले राम्रो प्रभाव छाड्ने गरेको अनुभव उत्पादकलाई छ । डाबर, बर्जर पेन्टस, मक्खन चामल, नोमाक्स क्रिम, बैंक, अपार्टमेन्टलगायत ६ दर्जनभन्दा बढी विज्ञापनमा आवाज दिएकी उनले यसबाट थोरै समय दिँदा राम्रो कमाइ गरेको अनुभव सुनाइन् । 'एकै दिनमा ४/५ वटा विज्ञापनमा आवाज दिन सकिन्छ,' उनले भनिन्, 'थोरैथोरै रकम एक मुस्ट आउँदा आम्दानी राम्रै हुन्छ,' उनले भनिन् । 
विदेशी टेलिभिजनमा विज्ञापन बज्दा आँखा नझिम्क्याउने दर्शक अझै नेपाली सिर्जनाप्रति सकारात्मक भने भइसकेका छैनन् । आनका अध्यक्ष भट्टराई विदेशी विज्ञापन लक्षित समूहका लागि बनाइने बताउँछन् । 'हामीले सीमित लगानीमा गाउँ/सहर, शिक्षित/अर्धशिक्षित सबैलाई समेट्ने गरी विज्ञापन बनाउनु पर्छ,' उनी भन्छन्, 'त्यसैले विदेशीको दाँजोमा हामी अझै पुग्न नसकेका हौं ।'
लोडसेडिङले आक्रान्त मुलुकमा विज्ञापनको बजार भने खासै निरासाजनक छैन । गत वर्ष सवा ४ अर्बको विज्ञापनको कारोबार भएको आनको तथ्यांक छ । यसपाली आर्थिक मन्दी, लोडसेडिङलगायतको असरले बजारको बृद्धिदर कायम नहुने आशंका आनले गरेको छ । 'कारोबार रकम घट्दैन,' अध्यक्ष भट्टराइले भने, 'बृद्धिदर भने अघिल्लो बर्षजति नहोला ।'
विज्ञापनमा ठूलो हिस्सा छापा माध्यमको छ । छापा माध्यममा विज्ञापन कारोबार गत वर्ष २ अर्व १५ करोडको भएको थियो । त्यसपछि क्रमशः टिभी, रेडियो, होर्डिङ बोर्ड, फ्लेक्स, सिनेमा हलहरू, ब्रोसरलगायतले लिएका छन् । विज्ञापन ब्यवसाय संचालन गर्ने १ सय ७८ एजेन्सी छन् । यो ब्यवसायमा प्रत्यक्ष रुपमा ८ हजार र अप्रत्यक्ष लाखौले रोजगारी पाएको आनका अध्यक्ष भट्टराइएको दावी छ । 
पछिल्लो समय विज्ञापनका माध्यमसमेत फेरिदै गएका छन् । फेसबुक, गुगललगायतमा नेपाली उत्पादनका विज्ञापन छाउन थालेका छन् । फेसबुकमा उत्पादक, सेवा प्रदायक, आद्योगिक प्रतिष्ठानले आफ्नो छुट्टै पेज बनाएर विज्ञापन गरिरहेका छन् । आक्रामक बजार प्रबर्धन योजनाका साथ आएको एस ट्राभल्सको फेसबुक पेजलाई हेरौं । मुलुकमा फेसबुक प्रयोगकर्ताको संख्या अघिल्लो सातामात्र १४ लाख जना नाघेका बेला एसको पेज मन पराउनेको संख्या यसै साता १ लाख ५३ हजार ५ सय नाघेको छ । उसले आफ्नो पेजमा आफूले प्रदान गर्ने सेवा, गतिविधिका तस्बिर, भिडियो शेयर गरेर विज्ञापनको नया शैलीलाई पछयाएको छ । पछिल्लो तथ्यांक हेर्ने हो भने मुलुकमा मोवाइलमा जिपिआरएससहित इन्टरनेट चलाउनेको संख्या ३७ लाख ५१ हजार नाघेको छ ।  धेरै नेपाली सामाजिक संजालमार्फत एकअर्कासग जोडिएका छन् । यसले विज्ञापनकर्तालाई इन्टरनेट विज्ञापनतिर आकषिर्त गरेको छ ।

0 प्रतिक्रिया:

Post a Comment

तपाइलाई यो लेख कस्तो लाग्यो ? कृपया आफ्नो प्रतिकृया तलको कमेन्ट बक्समा ब्यक्त गर्नुहोला | हामीलाई सुझाब तथा सल्लाह समेत उक्त बक्समा ब्यक्त गरिदिनुहोला | धन्यबाद |

 
Top