उपयोगी मोबाइल एप्लिकेसनहरू


मानौं, तपाईंको घरमा आगलागी भयो, तत्काल दमकल बोलाउनुपर्‍यो। त्यति मात्र होइन, छरछिमेकमा चोरी भयो, पुलिस बोलाउनुपर्‍यो। कसैलाई तुरुन्त रगतको खाँचो पर्‍यो, ब्लड ब्यांकमा फोन गर्नुपर्‍यो, तर त्यही बेला आफूलाई फोन नम्बर थाहा छैन भने परेन फसाद ? चिन्ता नगर्नुहोस्, यस्तो बेला उपयोगी हुने मोबाइल एप्लिकेसन डाउनलोड गर्नुभयो भने यो समस्याबाट मुक्ति पाइनेछ।

'इमरजेन्सी कल नेपाल' त्यस्तै एउटा अप्लिकेसन हो, जसलाई मोबाइलमा डाउनलोड गरेपछि एकैपटक दमकल, ब्लड बैंक, एम्बुलेन्स, शव बाहन, ट्राफिक कन्ट्रोल र हेल्थ पोस्टमा फोन गर्न सकिन्छ। मानवीय जीवनमा भैपरी आउने यस्ता एप्लिकेसनले कुनै बेला ठूलो सघाउ पुर्‍याउँछन्। 'नम्बर सम्झिन गाह्रो नहोस् भनेर बनाएको,' आफूले बनाएको एप्लिकेसनका सम्बन्धमा जानकारी दिँदै दीपेन्द्र कुसिनले भने। 

कुरा 'इमरजेन्सी कल नेपाल' को मात्र होइन, यहाँ अरू थुप्रै एप्लिकेसन छन्, जसको मद्दतबाट उपभोक्ताहरूले सजिलै फाइदा लिन सक्छन्। 'फस्र्ट एड सोलुसन', 'एच प्लस', 'प्राउड मम्' त्यस्तै केही एप्लिकेसन हुन् जो मानवजीवनका लागि अत्यावश्यक पनि छन्। रोगबाट कसरी बच्ने, के गर्ने, लक्षणहरू के-के देखा पर्छन् भन्ने व्याख्या गर्छन् यी एप्लिकेसनहरूले।

माइक्रोसफ्ट इन्नोभेसन सेन्टर नेपाल (एमआईसी नेपाल) द्वारा नेपालमै पहिलो पटक मनाइएको 'विन्डोज फोन एप् फेस्टिबल' मा यस्तै ३६ वटा एप्लिकेसन सार्वजनिक गरिए। काठमाडौंका विभिन्न कलेजमा सूचना तथा प्रविधि विषयमा अध्ययनरत नेपाली विद्यार्थीहरूले विकास गरेका एप्लिकेसनहरू मोबाइलमा निःशुल्क डाउनलोड गरेर संसारभर प्रयोग सकिन्छ। लोडसेडिङको तालिका खोज्न अब फोटोकपि सेन्टरतिर दौडिरहनुपर्दैन, पर्समा कति पैसा बाँकी छ त्यो हेरिरहनुपर्दैन, मन लागेका कुरा सर्च गर्न गुगल खोलिरहनुपर्दैन, मादल बजाउन मन लाग्यो भने मादलकै जरुरत पर्दैन। लोडसेडिङ, वालेट चार्ट, पावर सर्च र मादलजस्ता एप्लिकेसनले यी सबै समस्या समाधान गर्नेछन्। 

मानवीय जीवनमा अत्यावश्यक पर्नेबाहेक अन्य रमाइला केही एप्लिकेसन पनि छन्। जस्तो- बाउन्सिङ बल, क्वाइन टस्, फिंगर डान्सर, जिराफ आदिका माध्यमबाट रमाइला खेल पनि खेल्न सकिन्छ। नेपालबाट अन्तर्राष्ट्रिय स्तरका एप्लिकेसनहरू बनेको देख्दा माइक्रोसफ्ट इन्नोभेसन सेन्टर नेपालका एलन बाइलोचन तुलाधर निकै हौसिएका छन्। 'विद्यार्थीहरूको सिर्जनशीलता देखेर गर्व लाग्यो,' उनले भने, 'नेपालबाट पनि अन्तर्राष्ट्रिय स्तरका एप्लिकेसन बनाउन सकिन्छ भन्ने उदाहरण हो यो।'

0 प्रतिक्रिया:

Post a Comment

तपाइलाई यो लेख कस्तो लाग्यो ? कृपया आफ्नो प्रतिकृया तलको कमेन्ट बक्समा ब्यक्त गर्नुहोला | हामीलाई सुझाब तथा सल्लाह समेत उक्त बक्समा ब्यक्त गरिदिनुहोला | धन्यबाद |

 
Top