६६ प्रतिशत मानिसमा नोमोफोबिया

तपाईँ आफ्नो मोबाइल फोनप्रति कत्तिको आशक्त हुनुहुन्छ ? कल्पना गर्नुहोस् तपाईँ बाहिर निस्कँदा मोबाइल घरमै बिर्सनुभयो । मोबाइल फोनबाट सम्पर्क बाहिर रहनुपर्दा कत्तिको चिन्ता हुन्छ ?
 
सेक्युअरइन्भोई नामक ईन्टरनेट सुरक्षा कम्पनीले बेलायतका विभिन्न कम्पनीमा काम गर्ने एक हजार जनामा गरेका अध्ययनले मानिसहरु मोबाइल फोन सम्पर्क बाहिर रहँदा निकै चिन्तित हुने गरेको जनाएको छ । अध्ययनमा सहभागी दुई तिहाई मानिस मोबाइल हराउने अथवा सम्पर्कबाट बाहिर रहनुपर्ने चिन्ताले ग्रसित हुने गरेको जनाएको छ । यस्तो उनीहरुले चार्ज सकिएर वा नेटवर्क कभरेजभन्दा बाहिर रहँदा चिन्ता हुने गरेको बताएका छन् । 
 
नोमोफोबिया अर्थात ‘नो मोबाइल फोन फोबिया’ नाम दिइएको उक्त अध्ययनका अनुसार ६६ प्रतिशत मानिसहरु मोबाइल फोन बोक्न भुलेर वा चार्ज सकिएर निकै चिन्तित हुने गरेका छन् । यही समयमा अघिल्लो वर्ष गरिएको अध्ययनको नतिजाभन्दा अहिलेको नतिजा ११ प्रतिशतले बढी हो । 
 
नोमोफोबियाको समस्या जवानहरुमा धेरै भएको अध्ययनले देखाएको छ । १८ देखि २४ वर्ष उमेर समूहका ७७ प्रतिशतलाई धेरै नोमोफोबिया हुने गरेको छ । २५ देखी ३४ वर्ष उमेर समूहभन्दा यो ११ प्रतिशतले अधिक हो । यस्तै ३४ वर्षभन्दा माथिका ५५ प्रतिशत मानिसहरु आफ्नो मोबाइल भुल्दा वा सम्पर्क बाहिर हुँदा चिन्तित हुने गरेका छन् । 
 
मोबाइल नहुँदा पुरुषभन्दा बढी महिलाहरु चिन्तित हुने गरेका छन् । अध्ययनमा सहभागी मध्ये ७० प्रतिशत महिला र ६१ प्रतिशत पुरुषले मोबाइल नहुँदा पीडा हुने गरेको बताएका छन् ।
 
अध्ययनका अनुसार ४७ प्रतिशत पुरुष र ३३ प्रतिशत महिला २ वटा मोबाइल सेट बोक्छन् । 
मोबाइल नहुँदा वा सम्पर्क बाहिर रहँदा मानिसहरुले आफुलाई असुरक्षित महसुस गर्ने गरेको अध्ययनको निष्कर्ष छ । अध्ययनले किशोर किशोरीहरु चौबिसै घण्टा आफ्ना साथीहरुसँग रहन चाहेको निष्कर्ष निकालेको छ । -एजेन्सीको सहयोगमा

0 प्रतिक्रिया:

Post a Comment

तपाइलाई यो लेख कस्तो लाग्यो ? कृपया आफ्नो प्रतिकृया तलको कमेन्ट बक्समा ब्यक्त गर्नुहोला | हामीलाई सुझाब तथा सल्लाह समेत उक्त बक्समा ब्यक्त गरिदिनुहोला | धन्यबाद |

 
Top