कमल पराजुली/ उज्यालो । काठमाडौं, माघ १४ — सिर्जनात्मक काम, मनग्ये पैसा र सम्मानित जागिर के होला ? जवाफ आआफ्नै खालको हुनसक्छ । तर काठमाण्डौ लगनटोलका रविन श्रेष्ठलाई भने  सुचना ‘आइटी जब’ नै सबै भन्दा उत्कृष्ट लाग्छ ।
उहाँ सुचना प्रविधि (आइटी) क्षेत्रमा लागेको ४ बर्ष नाघिसक्यो । शुरुमा सफ्टवेर तथा वेब डिजाइजर कम्पनी क्षितिज नेपालबाट काम शुरु गरेका रबिन अहिले वेब डिजाइनिङ कम्पनी मिराकल ईन्टरफेसमा काम गर्नुहुन्छ । उहाँले अहिले सम्म सयौ वेब पेज बनाईसक्नुभएको छ । ‘अब आइटीलाई नै करिअर बनाउने सोचमा छु’, रबिनले भन्नुभयो, ‘यो क्षेत्रमा नाम र दाम दुबै छ ।’
शुरुमै मासिक १० हजारबाट काम शुरु गरेका रबिनको अहिले माग बढेको छ । ‘अनुभव बढ्दै गएपछि डिमान्ड पनि बढ्छ’ उहाँ भन्नुहुन्छ, ‘अहिले त ५० हजारभन्दा कममा कसैले काम लगाउदैनन् ।’ उहाँले काम गर्ने मिराकल ईन्टरफेस सफ्टवेर तथा वेब डिजाईन गर्ने जापानिज कम्पनी हो । रबिन सहित उहाँका सहकर्मीहरु जापनिज कम्पनीका लागि वेबसाइट तथा विभिन्न सफ्टवेयर बनाउन तल्लिन छन् ।  
नुवाकोटका सागर रिमाल वेबसाईट डिजाईनिङ कम्पनी वेबलिङ्क नेपालमा काम गर्नुहुन्छ । वेबसाईट डिजाईनिङबारे ६ महिने तालिम लिएका रिमाल अहिले राम्रो वेब डिजाईनर भैसक्नुभएको छ । उहाँ भन्नुहुन्छ, ‘हामी सामान्य तालिम लिएकोले त राम्रो काम गर्न सकेका छौँ भने आइटी ईन्जिनियरहरुलाई त धेरै नै राम्रो छ ।’
रबिन र सागर त केही प्रतिनीधि पात्रमात्र हुन् । यस्ता धेरै युवा सूचना प्रविधिमा आफ्नो दिमाग लगाइरहेको छ । आइटी (इनफरमेशन टेक्नोलोजी) क्षेत्र जागिर र करिअरको राम्रो आकर्षण बनेको छ । आइटी नै अध्ययन गरेका ईन्जिनियर मात्रै नभएर सामान्य ६ महिना देखि १० बर्ष सम्मको तालिम लिएकाहरुले पनि अहिले यो क्षेत्रमा राम्रो पैसा कमाईरहेका छन् । नेपालमा १० हजार देखि १ लाख सम्म कमाउने सफ्टवेर डेभलपर र वेबडिनाईनरले बिभिन्न कम्पनिहरुमा जागिर गरिरहेका छन् ।
सुचना प्रविधिको बढ्दो आबश्यक्ता र प्रयोगसँगै यसमा दक्ष जनशक्तिको आवश्यक्ता बढेको छ । तर नेपालमा अहिले पनि आइटी क्षेत्रमा दक्ष जनशक्तिको कमी छ । सफ्टवेर डेभलप कम्पनी ईआईसिटीका सञ्चालक अजयबाबु सिवाकोटी भन्नुहुन्छ, ‘अहिले मान्छे पाउनै गा¥हो छ ।’
बेरोजगार बस्नुपर्दैन
सफ्टवेर डेभलपिङ र वेब डिजाईनिङ गर्न सक्नेहरुको लागि अहिले कामको कमी छैन् । यस्तो काम चारपाँच जना मिलेर आफै घरमा नै गर्न सकिन्छ । हाम्रोकुरा डट कम वेबसाईट समेत चलाईरहेका सिवाकोटी आफ्ना मिल्ने पाँच छ जनाको समुह बनाएर सरकारी, कार्यालय र स्थानीय निकासहरुको लागि निकै उपयोगी हुने सफ्टवेर बनाइरहनुभएको छ ।
नागरिक अभिलेखन, लेखा, राजस्व संकलन, पञ्जिकरण, सामाजिक सुरक्षा भत्ता वितरण र बजेटको लेखाजोख ागर्न मिल्ने सयुक्त सफ्टवेरको प्याकेज तयार पारेको यो समुहले अहिले काठमाडौंमा चलिरहेको क्यान ईन्फोटेकबाट त्यसको ओपनिङ गरेको छ । सभाषद गगन थापाको सहयोगमा काठमाडौंका २ वटा गाविसमा यसको प्रयोग शुरु भैसकेको छ । उहाँ भन्नुहुन्छ, ‘अब देशका अधिकांस गाविस र नगरपालिकामा पु¥याउने हाम्रो लक्ष्य छ ।’ जारी ईन्फोटेकमा पनि यसको बुकिङ भैरहेको छ । २ लाखमा वेभसाईटको प्याकेज बेचिरहेको यो समुहले राम्रो आम्दानी समेत गरिरहेको छ ।  
पढाए पनि राम्रो कमाई
सूचना प्रविधि पढाउने मानिस पाउन पनि मुस्किल नै छ । जागिर खानेले मात्रै होईन अहिले वेभसाईट र सफ्टवेयर डेभपलरसँगै आइटी तालिम समेत चलाएर राम्रो आम्दानी गर्नेहरु बढेका छन् । वेबलिङकका प्रवन्ध निर्देशक सिताराम रिमाल भन्नुहुन्छ, ‘आइटी जानेकाहरुले जे गरे पनि पैसा छ ।’ उहाँले सरकारी कार्यालय, गैरसरकारी संस्थाहरु र विभिन्न ट्राभल एण्ड टुर्स कम्पनीका लागि सयौँ वेभसाईट बनाईसक्नुभएको छ ।  वेभसाईट निर्माण ७ हजार देखि सुरु हुन्छ । रिमालले पाँच लाखसम्मको वेभसाईट निर्माण गर्नुभएको छ ।  
यि त केही उदाहरणमात्र हुन् । अहिले सरकारी कार्यालय, बैंक तथा व्यवसायिक क्षेत्रमा प्रविधिको प्रयोग बढेको छ । सुचना प्रविधिको क्षेत्रमा भैरहेको दिन दुगुना रात चौगुना विकासबाट कोही पनि अछुतो रहन नसकेको अवस्थामा यसको प्रयोग मात्रै बढेको छैन्, करिअर अपर्चुनिटी पनि बढेको छ । आइटीका विभिन्न क्षेत्रमा तालिम दिन खुलेका ईन्स्टिच्युसनमा बढेको भिडले पनि यस प्रतिको आकर्षण बुझ्न सकिन्छ ।
आउटसोर्सिङ पनि बढ्दै छ
विदेशी कम्पनिको लागि सफ्टवेयर निर्माण  र वेब डिजाईनिङ गर्ने कम्पनीहरु पनि बढेका छन् । सुचना प्रविधिको क्षेत्रमा ठुलो फड्को मारेका भारत र चीनको बिचमा रहेकोले नेपालमा सूचना प्रविधिको राम्रो सम्भावना र बजार रहेको यसमा संलग्न व्यक्तिहरु बताउछन् ।
हाल १ करोड डलर भन्दा धेरैको आइटी प्रोडक्ट निकासी भैसकेको सरकारी तथ्याङ्क छ । नीजि क्षेत्रका विभिन्न संस्थाले गरेको अध्ययनले बर्षेनी ४० करोड डलरको निकासी हुन्छ । नेपालबाट भारतका अलावा युरोपेली मुलुक र अमेरिका, अष्टेलिया, जापान लगायतका देशमा आइटी प्रोक्डक्ट निकासी हुन्छ ।
घरमै एउटा कम्प्युटर राखेर पनि विदेशी कम्पनीका लागि सफ्टवेयर डेभलपर र वेब डिजाईनिङ गर्नेहरु पनि धेरै छन् । औपचारिक रुपमा दर्ताबिना काम गर्नेहरु पनि धेरै भएकोले अहिले कति निकासी हुन्छ भन्ने यकिन तथ्याङ्क भने छैन ।  सरकारले विदेश निकासी गर्न सकिने तुलनात्मक लाभ भएका वस्तु र सेवाको सुचीमा आइटीलाई प्रमुख प्राथमिकतामा राखेको छ । यसले अबका दिनमा सरकारी तहबाट नै हुने पहलले यो क्षेत्रको दायरा अझै फराकिलो हुने अपेक्षा गर्न सकिन्छ ।
नेपालमा विभिन्न कार्यालय र व्यक्तिगत प्रयोजनको लागि मात्रै नभएर विदेशमा समेत निकासी हुने भएपछि यसमा रोजगारीको राम्रो अवसर छ । अहिले नै यस क्षेत्रमा ५ हजार भन्दा धेरैले औपचारिक रुपमै रोजगारी पाएको कप्युटर एसोसिएसन अफ नेपालको भनाई छ । अरु व्यक्तिगत रुपमा र स्वरोजगार भएर पैसा कमाउनेहरुको संख्या पनि निकै धेरै छ ।
अहिले नेपालमा ५० हजार भन्दा धेरैलाई आइटी क्षेत्रमा रोजगारी दिने कम्पनी १० भन्दा धेरै छन् । २० भन्दा कम कर्मचारी भएका कम्पनी पनि उत्तिकै छन् । आइटी क्षेत्रमा अहिले विभिन्न ईन्स्टिच्युट र कम्प्युटर ईन्जिनियर कलेजहरुबाट उत्पादित विद्यार्थीहरुले कल सेन्टर या अरु सफ्टवेयर डेभलप तथा वेभसाईट डिजाईनिङ कम्पनीमा काम गरिरहेका छन् ।
हजारौ युवाहरु रोजगारीका लागि विदेश गैरहेका छन् । नेपालमै पनि रोजगारीको खोजीमा लाईन लाग्नेको भिड छ । यस्तो अवस्थामा जागिर खानको लागि अथवा आफै वा साथीहरु मिलेर काम गर्न सकिने एउटा भरपर्दो क्षेत्रको रुपमा आइटी पेशाले स्थान लिदै गएको छ । कम्प्युटर ईन्जिनियरिङ कलेजमा निश्चित कोर्स गर्न लागेका विद्यार्थीको करिअर त राम्रो छ नै, अन्य बेरोजगार युवाहरुले पनि विभिन्न ईन्स्टिच्युटबाट तालिम लिएमा तुरुन्तै अवसर पाउन सक्ने अवस्था भएको यस क्षेत्रका उद्यमीहरु बताउँछन् ।
 

0 प्रतिक्रिया:

Post a Comment

तपाइलाई यो लेख कस्तो लाग्यो ? कृपया आफ्नो प्रतिकृया तलको कमेन्ट बक्समा ब्यक्त गर्नुहोला | हामीलाई सुझाब तथा सल्लाह समेत उक्त बक्समा ब्यक्त गरिदिनुहोला | धन्यबाद |

 
Top