ट्वीटरमा दोश्रो विश्वयुद्ध लाइभ !
रविराज बराल/ उज्यालो । काठमाडौं, पुष १८ – जर्मनीले स्लोभाकियासँग मिलेर पोल्याण्डमाथि हमला गर्यो । त्यसको दुई दिन पछि नै कमन्वेल्थका अन्य देशसँग मिलेर फ्रान्स र ब्रिटेनले जर्मनी विरुद्ध युद्ध छेडे । यतिबेला ब्रिटेनले आफ्ना युवालाई सेनामा भर्ति हुन आह्वान गर्दै छ । विश्व विभाजित छ । जर्मनी मे १० तारिखका दिन फ्रान्स, बेल्जियम, नेदरल्याण्ड र लक्जेम्बर्गमाथि आक्रमणको तयारीमा छ ।
अक्सफोर्ड विश्वविद्यलायबाट इतिहासमा स्नातक गरेका अल्विन कोलिन्सनले दोश्रो विश्व युद्धलाई अहिले लाइभ गरिरहेका छन् । सन् २०११ को अगस्टबाट सुरु भएको यो ६ वर्ष लामो प्रोजेक्ट हिट्लरको नाजी सेनाले पोल्यान्ड कब्जा गरेको घटनाबाट सुरु भैसकेको छ ।
कोलिन्सनले दोश्रो विश्व युद्धका बेलाका केही गोप्य पत्र, अप्रकाशित जानकारीहरु, तस्बिर, भिडियो लगायतका एतिहासिक महत्वका सामाग्री पनि ट्वीट गर्ने बताएका छन् । ‘मानिसहरुले आफुलाई युद्ध मैदानमै छु भन्ने अनुभव गर्न सकुन भनी यो सुरु भएको हो’, २४ वर्षे कोलिन्सनले टेलिग्राफको अनलाइन संस्करणसँग भनेका छन्, ‘ट्वीटरले विगत फर्काउने छ त्यो पनि बुझ्न सक्ने गरी, देख्न सक्ने गरी ।’
एक दिनमा भण्डै ४० ओटा ट्वीट गरिरहेका उनले युद्धका प्रत्यक्षदर्शीले बोलेका कुरा पनि समेटेका छन् । अघिल्लो वर्षको अगस्टमा एउटा पत्रिकाको मार्केटिङ म्यानेजरको जागिर छोडेर यो काममा लागेका कोलिन्सन प्रविधिको प्रयोग गरेर इतिहासलाई दोहोर्याउन चाहन्थे । ‘मानिसहरुको बढ्दो उपस्थितिले मलाई हर्षित बनाएको छ’, न्यूयोर्क टाइम्ससँग कोलिन्सनले भनेका छन्, ‘मैले यो मानिसहरुको ध्यान तान्न मात्र गरेको हुँ, मेरो अरु कुनै उद्देश्य छैन ।’
दोश्रो विश्वयुद्धको लाइभ गर्ने उनको ट्वीटरमा हालसम्म १ लाख ८१ हजार बढी प्रशंसक छन् । उनको फेसबुकमा दुई हजारभन्दा बढी लाइक छन् ।
– एजेन्सीको सहयोगमा
0 प्रतिक्रिया:
Post a Comment
तपाइलाई यो लेख कस्तो लाग्यो ? कृपया आफ्नो प्रतिकृया तलको कमेन्ट बक्समा ब्यक्त गर्नुहोला | हामीलाई सुझाब तथा सल्लाह समेत उक्त बक्समा ब्यक्त गरिदिनुहोला | धन्यबाद |