हामी मध्ये कयौँ गन्हाउने समस्याले हैरान भएका हुन्छौं । कहीँ जुत्ता फुकालेर कोठामा जानु परेमा अप्ठेरो हुन्छ । जिउ जति नै बास्ना आउने भएपनि खुट्टा त यति गन्हाउने हुन्छ कि त्यस व्यक्तिको अगाडि बस्नै नसकिने हुन्छ । हाम्रो खुट्टा गन्हाउनुको मुख्य कारण के हो त ? हाम्रो खुट्टा गन्हाउनुको प्रमुख कारण पसिना हो । प्रत्येकमा २ लाख ५० हजारभन्दा बढी पसिना ग्रन्थि हुने हाम्रा खुट्टाहरू शरीरमा सबैभन्दा बढी पसिना आउने ठाउँहरुमध्ये पर्छन् ।

एक दिनमा हाम्रो एउटा खुट्टाले करिब ४५० मिलि लिटर पसिना निकाल्छ । पसिना भनेको प्रमुख रुपमा पानी र नुनको मिश्रण मात्र हो । त्यसैले पसिना आफैँ भने गन्हाउने हुँदैन । पसिना गन्हाउने मुख्य कारण त हाम्रो छालामा हुने ब्याक्टेरियाहरु हो । ब्याक्टेरियाले हाम्रो छालामा उत्पादन हुने पसिना खान्छ । र, पसिना खाइसकेपछि ब्याक्टेरियाले दिशाको रुपमा निकाल्ने तत्त्व नै पसिना गन्हाउनुको प्रमुख कारण हो ।

पक्कै पनि हाम्रो शरीरको सबै भागमा पसिना आउँछ । हाम्रो हातहरूमा पनि प्रशस्त पसिना ग्रन्थीहरु हुन्छन् । तर, खुट्टाजस्तै शरीरका अन्य भागहरु त्यति गन्हाउँदैनन् । के फरक छ त खुट्टा र शरीरका अन्य भागहरुमा ? यसको उत्तर हो मोजा र जुत्ता । जुत्ता र मोजाका कारण खुट्टाबाट निस्कने पसिना हातहरू र शरीरका अन्य भागमा निस्कने पसिना जस्तो सजिलै बाहिरी हावासँग सम्पर्कमा आउन सक्दैन । यो खुट्टा र मोजामै टाँसिएर बस्छ । ब्याक्टेरिया अँध्यारो, ओसिलो र चिसो ठाउँमा चाँडै फैलिने हुँदा खुट्टातर्फ आकर्षित हुन्छ । कसैकसैको खुट्टा अरुको भन्दा धेरै गन्हाउनुको कारण चाहिँ उनिहरुको खुट्टामा धेरै पसिना आउनु नै हो । र, तपाईँले याद गर्नुभएको होला, धेरै हिँडियो भने पनि खुट्टा धेरै गन्हाउँछ; कारण उही हो : धेरै हिँड्दा धेरै पसिना आउनु ।

0 प्रतिक्रिया:

Post a Comment

तपाइलाई यो लेख कस्तो लाग्यो ? कृपया आफ्नो प्रतिकृया तलको कमेन्ट बक्समा ब्यक्त गर्नुहोला | हामीलाई सुझाब तथा सल्लाह समेत उक्त बक्समा ब्यक्त गरिदिनुहोला | धन्यबाद |

 
Top