ऊर्जाको बैकल्पिक स्रोतको विकासमा हाइड्रोजन ग्यासमा धेरै सम्भावना देखिएको छ तर प्रकृतिमा स्वतन्त्र रूपमा हाइड्रोजन उपलब्ध नभएकाले यसलाई विभिन्न प्रक्रियाबाट उत्पादन गर्नु पर्दछ । अहिलेसम्म विकसित विधि सजिला छैनन् र खर्चिला पनि छन् । अमेरिकाको केनटुस्की विश्वविद्यालय र लुइसभेल विश्वविद्यालयका बैज्ञानिकहरूले एक सस्तो सेमिकन्डक्टर वस्तु बनाएका छन्, जसले सौर्य प्रकाशद्वारा पानीबाट हाइड्रोजन बनाउँछ ।

फिजिकल रिभ्यु बी जर्नलको अगस्ट अङ्कमा उल्लेख गरिए अनुसार यस सफलताले ठूलो सम्भावना बोकेको छ । गेलियम नाइट्राइडमा एन्टिमनीको दुई प्रतिशत मिश्रण हालेर तयार पारिएको अवयवमा सौर्य प्रकाशको मद्दतद्वारा पानीलाई हाइड्रोजन र अक्सिजनमा परिणत गर्न सक्ने विद्युतीय गुण हुने प्रदर्शन वैज्ञानिकहरूले गरेका छन् । पानीलाई हाइड्रोजन र अक्सिजनमा परिणत गर्ने प्रक्रियालाई फोटोइलेक्ट्रो केमिकल भनिन्छ ।

वैज्ञानिकहरूले विशेष किसिमले बनाइएको अवयवलाई पानीमा हालेर घाममा राख्दा पानी हाइड्रोजन र अक्सिजनमा रूपान्तरित भएको थियो । त्यसपछि हाइड्रोजनलाई उनीहरूले सङ्कलन गरेका थिए । गेलियम नाइट्राइड एक सेमिकन्डक्टर हो, सन् १९९० को दशकदेखि चम्किलो एलईडी चिम बनाउन व्यापक स्तरमा यसको उपयोग हुँदै आएको छ ।

0 प्रतिक्रिया:

Post a Comment

तपाइलाई यो लेख कस्तो लाग्यो ? कृपया आफ्नो प्रतिकृया तलको कमेन्ट बक्समा ब्यक्त गर्नुहोला | हामीलाई सुझाब तथा सल्लाह समेत उक्त बक्समा ब्यक्त गरिदिनुहोला | धन्यबाद |

 
Top