स्काई ड्राइभ, गुगल ड्राइभ, बक्स र ड्रप्बक्स अहिलेका नाम चलेका क्लाउड स्टोरेज सेवा प्रदायकहरू हुन् । क्लाउड स्टारेज सेवामा रमाउनेहरू जमात पनि बढ्दो छ । क्लाउड कम्प्युटिङका सेवाहरूसँग हातेमालो गरेर हिँड्नु जरुरी भइसकेको छ । जल्दोबल्दो अपरेटिङ सिस्टमदेखि ब्राउजरलगायत थुप्रै एप्लिकेसनहरू यसै अवधारणामा आधारित भएर बन्न थालेका छन् ।

इन्टरनेट जगत्मा क्लाउड सेवाबाट धेरै फाइदा उठाउनेको कमी पनि छैन । अपरेटिङ सिस्टम (ओएस) मा एकछत्र राज गर्दै आएको माइक्रोसफ्ट विन्डोजको आगामी भर्सन विन्डोज एट र एप्पलको ओएसको पछिल्लो रिलिजमा पनि क्लाउडलाई नै प्राथमिकता दिइएको छ । इमेल, इन्टरनेटसँग भिजेकाहरूलाई क्लाउड स्टोरेजको प्रयोग गर्न अप्ठ्यारो स्थिति सामना गर्न नपर्ला ?

तर नयाँ किसिमका क्लाउड स्टोरेजको प्रयोग थपिने क्रम जारी छ । आफ्ना महत्त्वपूर्ण 'डकुमेन्ट' सुरक्षित राख्न वा डकुमेन्ट चाहिराख्ने सम्भावनालाई मध्यनजर गर्दै उक्त डकुमेन्टहरू इमेलमा अट्याच गरेर राख्ने गथ्र्यौं । यसरी इमेलमा डकुमेन्ट राख्न एकै व्यक्तिले एकभन्दा बढी इमेलको प्रयोग पनि गर्ने गर्छन् ।

यस्तो उपायले केही मद्दत त पुग्ला तर इमेल संख्या धेरै हुँदा, चाहिएका बेला फेला पार्न कहिलेकाहीँ मुस्किल नै पर्छ । एकभन्दा बढी इमेलको प्रयोगले कुन इमेलमा छ, दुविधा पनि थपिदिन्छ । अपनाइँदै आएको इमेलमा राख्ने प्रथालाई केही परिमार्जित रूपमा प्रयोग गर्ने बेला आएको छ । आफ्नो डकुमेन्टलाई क्लाउड स्टोरजमा राख्न कुनै समस्या नहोला ।

सेवा प्रदायकमा एकाउन्ट र एप्लिकेसन पुगिहाल्छ, क्लाउडमा डकुमेन्ट राख्नलाई । एकाउन्टमा लगिन गरेर आफ्ना डकुमेन्टलाई अपलोड गर्न सकिन्छ । क्लाउड स्टोरेजमा अपलोड गरेर सेयर गर्ने प्रवृत्ति पनि बढ्दो छ, तर इमेलमा आएका अट्याचमेन्टहरूलाई क्लाउड स्टोरेजमा व्यवस्थित कसरी गर्ने त ? इमेलका अट्याचमेन्टहरूको व्यवस्थापनमा जीमेल एक कदम अगाडि अनि प्रभावकारी देखिन्छ ।

जीमेलका इमेलहरूलाई डकुमेन्टका रूपमा गुगल ड्राइभमा राख्न सकिन्छ । साथै जीमेलमा आएका इमेल अट्याचमेन्टहरूलाई विभिन्न क्लाउड स्टोरेज प्रदायकमा पनि राख्न सकिन्छ । जीमेलका इमेललाई गुगल ड्राइभमा राख्ने सुविधा जीमेलमा नै उपलब्ध छ । इमेल अट्याचमेन्टहरूलाई गुगल ड्राइभसँगै अरू प्रदायक राख्न सकिने सुविधालाई अट्याचमेन्ट्सडटमी (www.attachments.me)ले अगाडि सारेको छ ।

'डिफल्ट' जीमेल सेवामा इमेललाई डकुमेन्टका रूपमा गुगल ड्राइभमा राख्न सकिन्न । यसका लागि जीमेल 'सेटिङ्स' केही परिवर्तन गर्नुपर्छ । जीमेल सेटिङ्सको 'ल्याब्स ट्याब' मा रहेको 'क्रिएट अ डकुमेन्ट' अप्सनलाई 'इनेबल' गर्नुपर्नेछ । अब आएका इमेल खोली, 'मोर' मेन्युको 'क्रिएट अ डकुमेन्ट' सबमेन्यु प्रयोग गरी इमेललाई डकुमेन्टका रूपमा गुगल ड्राइभमा राख्न सकिन्छ ।

जीमेल अट्याचमेन्टहरूलाई क्लाउड स्टोरेजमा राख्न ब्राउजरमा केही थप्नुपर्नेछ । गुगल क्रोमका लागि 'क्रोम एक्टेन्सन' पाइन्छ भने फायरफक्सका लागि फायरफक्स एडअन पाइन्छ । अट्याचमेन्ट्सडटमीको खोल्नेबित्तिकै थप्नुपर्ने सुझाव वेबसाइट दिन्छ । यी एडअन नराखी अट्याचमेन्ट्समीको प्रयोग गरेर इमेल अट्याचमेन्टहरूलाई क्लाउड स्टोरेजमा राख्न सकिन्न ।

अट्याचमेन्ट्समी एडअनलाई ब्राउजरमा राखेलगत्तै क्लाउडमा राख्ने सुविधा थप हुनेछ । एडअन राखेर पहिलो पटक जीमेल लगिन गरेपछि उक्त जीमेलमा अट्याचमेन्टमी प्रयोग गर्ने/नगर्ने कुराको कन्फर्मेसन हुन्छ । कन्फर्मेसनपछि एडअनको प्रयोग गर्न सकिन्छ । अब जीमेल अट्याचमेन्टहरूलाई क्लाउडमा राख्न इमेल खोली, इमेलको दायाँ भागमा अट्याचमेन्टलाई क्लाउडमा राख्ने अप्सन 'सेन्ड टु क्लाउड' पाइन्छ ।

उक्त अप्सनमार्फत कुन क्लाउड प्रदायकमा अट्याचमेन्टलाई राख्ने छानेर प्रदायकको एकाउन्ट इन्फर्मेसन प्रयोग गरेर अट्याचमेन्टलाई क्लाउडमा राख्न सकिन्छ । क्लाउड सेवा प्रदायकअनुसार स्टोरेज क्षमता फरक पर्छ । आम रोजाइ भनेको सर्वसुलभ (सकेसम्म निःशुल्क) मा धेरै स्टोरेज क्षमताको प्रदायक हो । आफूलाई चाहिराख्न सक्ने, सेयर गर्नुपर्ने डकुमेन्टसँगै जीमेल अट्याचमेन्टमा आएका मार्फत पठाइएका महत्त्वपूर्ण डकुमेन्ट एकै ठाउँ राख्न सकिँदा क्लाउड प्रयोगमा ऊर्जा थपेको छ ।

लेखक: मनोज कर्माचार्य

0 प्रतिक्रिया:

Post a Comment

तपाइलाई यो लेख कस्तो लाग्यो ? कृपया आफ्नो प्रतिकृया तलको कमेन्ट बक्समा ब्यक्त गर्नुहोला | हामीलाई सुझाब तथा सल्लाह समेत उक्त बक्समा ब्यक्त गरिदिनुहोला | धन्यबाद |

 
Top