स्मार्टफोन, आम मानिसको आवश्यकताको साधन बनिसकेको छ। यतिखेर नेपालमा मात्र २० लाख भन्दा माथि स्मार्टफोन प्रयोगकर्ता रहेको अनुमान गरिएको छ। यद्यपी यो संख्या नै वास्तविकता नहुन पनि सक्छ। स्मार्टफोनको प्रयोगबाट आम दैनिकी पनि स्मार्ट बनेको छ। घर र कार्यालय बीचको दूरी मेटाइदिएको छ स्मार्टफोनले। स्मार्टफोनको प्रयोग गरेर धेरैले कार्यालय र व्यवसायिक कामहरु पनि गर्ने गर्दछन्। जसका कारण स्मार्टफोनको सुरक्षामा ध्यान दिनु पनि आवश्यक भइसकेको छ। तपाइँका गोप्य सूचना र जानकारीहरु स्मार्टफोन हराउँदा वा कार्याल, घरमा छोडेको अवस्थामा अरुको पहुँचमा नपुगोस् भन्नका लागि स्मार्टफोनलाई सुरक्षित राख्न यस्ता पाँच तरिका छन् जो निशुल्क र सजिलै अपनाउन सकिन्छ।

पासकोड प्रयोग


तपाइँको स्मार्टफोन एण्ड्रोइड वा आइफोन जे भएपनि त्यसमा तपाइँले फोन लक कोड राख्न सक्नुहुन्छ। त्यसो त स्क्रिन लकको सुविधा पनि फोनमा नै हुन्छ। तपाइँले एपस्टोरमा स्क्रिन र फोन लक गर्ने एप पनि सजिलै र सित्तैमा पाउनुहुन्छ। यसको प्रयोग गर्नुभयो भने हतपत तपाइँको फोन हातमा पार्नेले फोन खोलेर तपाइँको सूचना, सर्म्पर्क तथा तथ्यांकहरु हात पार्न वा तीनको गोप्यतामा खेल्न पाउँदैन।

गुगल एकाउन्ट तथा आइक्लाउड सुरक्षित राख्ने


 स्क्रिन तथा फोन लक वा पासकोडको माध्यमबाट फोनलाई सुरक्षित गरेपछि तपाइँले आफ्नो फोन सजिलै खोल्न नसकिने त बनाउनु भयो तर दोस्रो सुरक्षाको चरणका रुपमा तपाइँले आफ्नो गुगल तथा आइक्लाउड एकाउन्टलाई पनि सुरक्षित पार्नुपर्छ। त्यसका लागि आफ्नो गुगल एकाउन्टको सेटिङमा गएर टु स्टेप भेरिफिकेसन अप्सनलाई सुचारु गर्नुपर्छ। यसो गर्दा तपाइँको फोनमा इमेल खोल्दा एउटा विशेष कोड राख्नुपर्छ जुन तत्काल जेनेरेट भएर तपाइँको फोनमा आउँछ।

जेलब्रेक र रुट नगर्ने 

जेलब्रेक वा रुट एउटा तरिका हो जसबाट तपाइँले आफ्नो फोनलाई आफ्नो तरिकाले र नियन्त्रणमा राखेर चलाउन सक्नुहुन्छ। यसलाई तपाइँ मोटरसाइकल मोडिफाइ गरेर चलाउनुसँग पनि दाँज्न सक्नुहुन्छ। तपाइँले यसो गरेको खण्डमा तपाइँको मोबाइलको ग्यारेन्टी तथा वारेन्टी त जान्छ नै तपाइँ यदि सामान्य प्रयोगकर्ता मात्र हो भने तपाइँको फोन नै काम नलाग्ने अवस्थामा समेत पुग्न सक्छ।

एप राख्दा सावधान

 

 स्मार्टफोनका लागि तयार एप स्टोरहरुमा खरिद गर्नुपर्ने मात्र नभएर सित्तैमा उपलब्ध एपहरु भकारी भरी भइसकेका छन्। त्यसो त विभिन्न वेबसाइटहरुले पनि आफ्ना एपहरु वेबसाइटमा डाउनलोडका लागि उपलब्ध गराएका छन्। इन्टरनेटको एउटा महत्वपूर्ण पक्ष नै एप डाउनलोड र अपडेट हुन थालेको छ। तर तपाइँले जहाँसुकैबाट पनि एप डाउनलोड गर्नुभयो र फोनमा राख्नुभयो भने त्यो तपाइँको लागि खतराको घण्टी बन्दछ। त्यसैले फोनमा आधिकारिक एपस्टोरबाट मात्र एप डाउनलोड गर्नु पर्छ। यदी तपाइँ एण्ड्रोइड फोन लिनुहुन्छ भने गुगल प्ले, एप्पलका फोन लिनुहुन्छ भने आइट्यून र वीण्डोज फोन लिनुहुन्छ भने वीण्डोज स्टोरबाट मात्र एपहरु डाउनलोड गर्नुहोस्।

सकेसम्म एप प्रयोग

 तपाइँको फोनमा ३२ वा ६४ जीबी सम्मको मेमोरी क्षमता छ भने यसको मतलब यो होइन कि त्यसमा मन लागेसम्मका फोटो र गीत राखौं। तपाइँलाई स्मार्टफोनमा विभिन्न एपहरु राख्ने सुविधा छ साथै तपाइँलाई सेवा दिने प्रदायकहरुले पनि मोबाइल एपहरु विकास गरेर निशुल्क प्रदान गरिरहेका छन्। त्यसैले सकेसम्म आफ्नो कामका लागि इन्टरनेट ब्राउजर भन्दा एप नै प्रयोग गर्नु राम्रो। विशेष गरेर बैंक वा सेयर मार्केटको कामका लागि त ब्राउजर भन्दा एप नै सुरक्षित हुन्छ। एपबाट काम गर्दा तपाइँको कारोबार साथै मोबाइल पनि सुरक्षित हुन्छ। 

- DoorSanchar










0 प्रतिक्रिया:

Post a Comment

तपाइलाई यो लेख कस्तो लाग्यो ? कृपया आफ्नो प्रतिकृया तलको कमेन्ट बक्समा ब्यक्त गर्नुहोला | हामीलाई सुझाब तथा सल्लाह समेत उक्त बक्समा ब्यक्त गरिदिनुहोला | धन्यबाद |

 
Top