एप्पल कम्पनीले आफ्नो आइफोनको नयाँ संस्करण आइफोन-५ बुधबार सार्वजनिक गरेको छ । विभिन्न नयाँ फिचर्स सहितको यो आइफोन अहिलेसम्मकै सबैभन्दा स्लिम स्मार्टफोन हो । आइफोन फाइभ सार्वजनिक हुने कुराले विश्वभरका स्मार्टफोन प्रयोगकर्तामा एक प्रकारको उत्साह थियो । लञ्चिङ भएलगत्तै आइफोन ५ विश्वभरकै वेबसाइटहरुमा छाइरहेको छ ।
आइफोन ५ का विषयमा प्रविधिप्रेमी तथा विज्ञ लगायत विभिन्न संचार माध्यमहरुमा मिश्रति प्रतिक्रिया आइरहेका छन् । चर्चित वेबसाइट मेशावलले गरेको सर्भेक्षणमा ३८ प्रतिशत सहभागीहरुले आफुले भविष्यमा आइफोन ५ किन्ने बताए भने हेराल्ड सन पत्रिकाले गरेको सर्वेक्षणमा अधिकांसले आइफोन ५ दिक्क लाग्दो भएको टिप्पणी गरे । अमेरिकी समाचार वेबसाइट वाशिंटन पोष्टले भने आइफोन ५ सन् २००७ मा बजारमा आएको एप्पलको आइफोनको सबैभन्दा नाटकीय रिडिजाइन रहेको बताएको छ । यसअघिका आइफोनको खोल सिसाको हुने गरेकोमा आइफोन ५ को ब्याकप्लेट मेटलको रहेको र क्यामरा केही सानो भएपनि सेन्सर पहिलेभन्दा शक्तिशाली रहेको वासिंटन पोष्टको ठम्याइ छ ।
हेराल्ड सनका अनुसार आइफोन ५ राम्रो त छ तर जबरजस्त छैन । आइफोन ५ को नयाँ कनेक्टरका कारण उपभोक्ता असन्तुष्ट हुनेछन् किनकी उक्त कनेक्टर पूराना आइफोन सँग अमिल्दो छ ।
कम्प्युटर सम्बन्धी वेबसाइट सी नेटले आइफोन ५ ले स्मार्टफोन बजारमा हलचल पैदा गर्ने बताएको छ । यो आइफोनले एप्पललाई स्मार्टफोन बजारमा फेरी शिर्ष स्थान दिलाउन सफल हुने भन्दै उक्त वेबसाइटले तर एप्पलप्रति उपभोक्ताको अपेक्षा अनुरुप भने आइफोन ५ आउन नसकेको वेबसाइटको भनाइ छ । एप्पलले अहिले थपेका भनिएका फिचर्स अरु कम्पनीका स्मार्टफोनमा यसअघि नै रहेको सि नेटले टिप्पणी गरेको छ ।
प्रविधि विश्लेषक होरेस डेडियूले भने एप्पल कम्पनी १ करोड ७० लाख भन्दा बढि आइफोन ५ बेच्न सफल हुने दाबी गरेका छन् । त्यस्तै जेपी मोर्गनका अनुसार आइफोन ५ को बिक्रीले अमेरिकाको कुल गाह्रस्थ उत्पादनमा ०.५ प्रतिशत हिस्सा ओगट्नेछ ।
ग्याजेट सम्बन्धि वेबसाइट स्लेसगिएरले लेखेको छ,’ भलै एप्पलको आइफोन भिन्न छ र हत्केलामा लिने वित्तिकै नयाँ अनुभुति दिलाउने छ । छोटो शव्दमा भन्नुपर्दा यसको डिजाइन शानदार छ । तपाइँ एप्पलको प्रशंसक नभएपनि यस्तो शानदार प्रडक्ट लञ्च गरेकोमा एप्पलको तारिफ गर्दा के फरक पर्ला ?’
त्यस्तै अर्को वेबसाइट वायर्ड डक कमले आइफोन ५ विश्वको सर्वश्रेष्ठ मोबाइल फोन भएको भन्दै यसको हार्डवेयर जबरजस्त भएको र ए ६ प्रोसेसरले त्यसलाई नयाँ जिवन दिएको उल्लेख गरेको छ । ४ इन्चको डिस्प्लेले नौलो अनुभुति गराउने भन्दै वेबसाइटले यो फोनमा बेखुसी हुनुपर्ने त्यस्तो नराम्रो कुरा केही नभएको लेखेको छ ।
प्रविधि सम्बन्धि वेबसाइट जेड डी नेटले भने एप्पलले आइफोन ५ मा ल्याएका नयाँ प्रविधिका विषयमा सामसुङ सँग पेटेन्टको विवाद चल्नसक्ने संकेत गरेको छ ।
जे होस् स्मार्टफोनको दुनियामा नयाँ सदस्य थपिएको छ । आइफोन ५ सेप्टेम्बर २१ बाट अमेरिका तथा बेलायत लगायतका ३० देशका बजारमा उपलब्ध हुनेछ । नेपाली बजारमा पनि सन् २०१२ को अन्त्य सम्ममा आउने अपेक्षा गरिएको छ ।

0 प्रतिक्रिया:

Post a Comment

तपाइलाई यो लेख कस्तो लाग्यो ? कृपया आफ्नो प्रतिकृया तलको कमेन्ट बक्समा ब्यक्त गर्नुहोला | हामीलाई सुझाब तथा सल्लाह समेत उक्त बक्समा ब्यक्त गरिदिनुहोला | धन्यबाद |

 
Top