विकिलिक्सका संस्थापक जुलियन असान्जले टेलिभिजन कार्यक्रम सञ्चालन गर्ने भएका छन । असान्जले रसियाको सरकार नियन्त्रित टेलिभिजन रसिया टुडे नेटवर्क मार्फत आगामी हप्ता देखि प्रसारण हुने कार्यक्रम ‘द वर्ल्ड टुमारो’ नामक कार्यक्रमको तयारी पुरा गरेको विकिलिक्सको ट्वीटरमा राखिएको विज्ञप्तीमा जनाइएको छ ।
अमेरिकाको न्यायिक छानबिनमा रहेका ४० वर्षिय असान्जले विश्वका केही रोचक र विवादास्पद व्यक्तिसँग कुरा गरेर कार्यक्रम तयार पारेको विज्ञप्तीमा उल्लेख छ । बेलायतमा घरमै नजरबन्दमा रहेका असान्जले गत दुई महिनामा घरमै कार्यक्रम छाँयाकंन गरेको सोसियल मिडिया सम्बन्धी वेबसाइट म्यासेबलले जनाएको छ । कार्यक्रम इन्टरनेटमा पनि उपलब्ध हुने छ ।
१२ भागको ‘द वर्ल्ड टुमारो’ कार्यक्रममा अतिथिका रुपमा राजनीतिज्ञ, क्रान्तिकारीदेखि कलाकारसम्म उपस्थित हुनेछन् । विकिलिक्सले आफ्नो ट्वीटरमा कार्यक्रमको पहिलो अतिथि अनुमान गर्न आफ्ना फलोअरलाई भनेको छ । ‘द वर्ल्ड टुमारोको पहिलो रहस्यमय अतिथिका बारेमा कुनै अनुमान ?’, विकिलिक्सको ट्वीटमा भनिएको छ ।
कार्यक्रमको उद्देश्यबारे असान्जले भनेका छन् – ‘यो कार्यक्रमको उद्देश्य विश्वका केही क्रान्तिकारी भावना भएका मानिसलाई विश्वका दर्शकसामु प्रस्तुत गर्नु हो ।’ विकिलिक्समा आफुले गरेको कामले आफ्नो जीवन झन् असहज भएपनि यसले विश्वमा परिवर्तन हुँदै गएको विचार राख्ने मौका दिएको असान्जले विज्ञप्तीमा जनाएका छन् ।
अस्ट्रेलियामा जन्मेका असान्ज राजनीतिक कार्यकर्ता, इन्टरनेट अभियानकर्ता, पत्रकार तथा कम्प्युटर प्रोगामरको रुपमा चिनिन्छन् । उनी विभिन्न गोप्य दस्तावेज सार्वजनिक गरेर चर्चामा आएको वेबसाइट विकिलिक्सका प्रधान सम्पादक हुन् । –एजेन्सीको सहयोगमा

0 प्रतिक्रिया:

Post a Comment

तपाइलाई यो लेख कस्तो लाग्यो ? कृपया आफ्नो प्रतिकृया तलको कमेन्ट बक्समा ब्यक्त गर्नुहोला | हामीलाई सुझाब तथा सल्लाह समेत उक्त बक्समा ब्यक्त गरिदिनुहोला | धन्यबाद |

 
Top